दैलेख जिल्ला नारायण नगरपालिका वार्ड नं २ जारकोट टोलमा बसोबास गर्ने बर्ष ३० को सेतु कुमारी कार्की एक व्यवसायिको रुपमा यस क्षेत्रमा परिचित हुदै गईरहनु भएको छ । उहाँको परिवारमा जम्मा ७ जना सदस्य संख्या छन । छोराछोरी मध्ये ४ जना त माध्यमिक तहमा पढ्ने विध्यार्थी हुनुहुन्छ । पहिला त उहाँको आर्थीक उपार्जनको बाटो पनि थिएन । त्यही भएर घरखर्च चलाउन उहाँको श्रीमान ईन्द्र कुमार सार्की भारत जानुभएको थियो । उहाँको सम्पत्ति भनेको ७ रोपनी जग्गा र एउटा सानो घर छ ।
सेतु कुमारी सार्कीले जब २०७२ सालमै भेटनरी जे. टि. ए. को पढाई पूरा गर्नुभयो तब एक व्यवसायिक कृषक बन्छु भनेर अठोट गर्नुभएको थियो । तर उहाँको आर्थिक अवस्था राम्रो थिएन । २०७२ सालदेखी दुई रोपनी जग्गाबाट बेमौसमी खेती शुरुवात गर्नुभएको थियो । शुरुमा टमाटर खेतीबाट उहाँले ३० केजी टमाटर बेचेर करीव रु ७५० जति मात्रै कमाउनुभएको थियो । थोरै लगानीमा पनि यति धेरै पैसा आएको देख्दा फुरङ्ग हुनुभयो र यही पेशा गर्ने सोच बनाउनुभयो ।
वि.सं. २०७७ असार २६ गते दैलेख जिल्ला नारायण नगरपालिका वार्ड न २ मा अवस्थित जारकोटमा रहेको कृति देवल बहुउद्देशिय सहकारी संस्था मार्फत कृषि क्षेत्र विकास कार्यक्रममा आवद्द हुनुभयो उक्त सहकारीमा ३३२ जना सेयर सदस्य रहेका छन् जसमध्ये १५४ शेयर सदस्यहरु बेमौसमी खेती तथा खसीबोका मुल्य श्रृंखलाबाट कृषि क्षेत्र विकास कार्यक्रमा जोडिनुभयो ।उहाँ यस कार्यक्रमसँग जोडीएपछि कोटथाप्ला उत्पादन समुहको अध्यक्ष तथा कृषि क्षेत्र विकास कार्यक्रमको सहजकर्ता भएर विभिन्न ४ वटा समुहमा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता कक्षा पढाईरहनुभएको छ । यसै सिलसिलामा उहाँले बेमौसमी तरकारी खेतीमा प्राविधिक कक्षा प्लाष्टिक घर निर्माण शत्रुजीज व्यवस्थापन आदि शिर्षकमा तालिम लिन पाउनुभयो । कृषि क्षेत्र विकास कार्यक्रमले सिपोलिन प्लाष्टिक, किरा छेक्ने जाली, सिचाँई ड्रम, मल्चिङ्ग, प्लाष्टिक युभी डोरी, विषादी छर्कने स्प्रेयर, हजारी ऽकोकोपिट, नर्सरी ट्रे र विउ आदिमा सहलगानी प्राप्त गर्नुभयो । अहिले आफुसँग ३ वटा प्लाष्टिक घर रहेका छन जसमध्ये २ वटामा आफू स्वयंले नै लगानी गरेको बताउनुहुन्छ । वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता सम्बन्धि कक्षामा वित्तिय लक्ष्य के हो कसरी आफ्नो व्यवसायिक योजना बनाउने रकम के मा लगाउदा प्रतिफल बढी हुन्छ, लगायत सिकाई भईरहेको छ, यसको अलावा घरव्यवहार संचालन गर्दा देखिने समस्यहरुलाई पनि कसरी न्युनिकरण गर्न सकिन्छ भनेर व्यवहारिक सिकाई भएको छ ।
गत बर्ष प्लाष्टिक घरभित्र टमाटर काउली खुर्सानी करेला काक्रा बन्दा लगाउनुभएको थियो । भने बाहिर आलु मुला साग तथा अन्य अन्नबाली लगाउनुभएको थियो । हाल उहाँले घरमा ४ वटा बाख्राका साथै २ वटा भैंसी पनि पालिरहनुभएको छ । उहाँले दुध बिक्रीबाट पनि आम्दानीमा थप गरिरहनुभएको छ । उहाँ अगाडि भन्नुहुन्छ हाल ७ रोपनी जग्गामा खेति गरिरहेको छु । बार्षिक रुपमा तरकारी खेती बाट रु १ लाख २० हजार भैसी पालन बाट रु १ लाख बाख्रा पालनबाट रु २० हजार र फलफुल खेतीबाट रु १० हजार गरी जम्मा २ लाख ५० हजार आम्दानी गर्न सफल भएको छु । जसबाट छोरा छोरी बुहारी ४ जनाकै शुल्क तिर्छु । उनीहरु पनि विहान पढेर आएर दिनभर मलाई नै खेतीपातीमा सहयोग गर्दछन । त्यसकारण म हाम्रै सहकारीमा दिउसो काम गर्न जान्छु । गत बर्षको आम्दानीबाट मैलै २ लाख बरावरको सुन जोड्न सकेको छु । र सम्पूर्ण खर्च कटाएर लगभग ६० हजार जति बैकमा बचत पनि गर्न थालेको छु । श्रीमानको कमाई बचत भएका कारण ३ रोपनी जग्गा जोड्न सफल भएको छु । गत बर्ष देखि व्यवसायमा वृद्दि गर्दै टिमुर आँप तथा कागतीका बेर्ना पनि रोपेको छु जसले गर्दा अब आउने सालदेखी मेरी आम्दानी बढ्ने देखिन्छ ।
उहाँ आफ्नो कुरा यसरी भन्नुहुन्छ “पहिला मसँग राम्रो ज्ञान थिएन लगानी गर्न यथेष्ठ रकम पुग्दैनथ्यो जातले गर्दा पनि उत्पादित बस्तुहरु विक्री हुन गार्हो हुन्थ्यो त्यसकारण श्रीमान काम गर्न भारत जानुभएको हो । घरखर्च जेनतेन ज्याला मजदुरी गरेर चलाएका थियौं तर अहिले कृषि क्षेत्र विकास कार्यक्रममा जोडिएपछि र सहजकर्ता भएर काम गरेपछि धेरै ज्ञान पाउन सफल भए । हामीले दुख त गथ्यौ तर बचत गर्न सक्दैनथ्यौ तर अहिले बचत गरेर पैसाको महत्व चिन्न सफल भएको छु ।“अब त श्रीमान पनि विदेशबाट फर्किदै हुनुहुन्छ दुवै भएर खेती गर्ने योजना बनाएको छु । बजारको समस्या नभएकाले उत्पादित जति पनि बस्तुहरु सहकारीमार्फत विक्री हुन्छ ।
आगामी योजनाको बारेमा यसो भन्नुहुन्छ “अब धेरै नै उत्पादन हुन थाले पछि सामानको प्रसाधन तिर लाग्नुपर्ला । टमाटरको सस बनाएर बजारमा विक्री गर्नुपर्ला । श्रीमान पनि सँगै हुने भएकाले बाख्रापालन व्यवसायलाई अझ बढाउने लक्ष्य लिएको छु ।“उहाँको जस्तै सबै कृषकहरुको ईच्छाशक्ति हुने हो भने पक्का पनि सफलताको शिखरमा पुग्न गार्हो नहोला ।
संकलन कर्ता
कमला राना, कृषि प्राविधिक
नारायण नगरपालिका, दैलेख
लेखनः
किरण न्यौपाने, अनुगमन तथा मू्ल्याङ्कन अधिकृत, कृषि क्षेत्र विकास कार्यालय जुम्ला