कालिकोट जिल्लाको ग्रामिण भेगमा बसोवास गर्ने महिलाहरुको जीवन आधुनिक कृषि पेशाले विस्तारै परिर्वतन हुन थालेको छ । परम्परागत कृषि प्रणालीमा आधारित यो पेशामा आजभोली कृषि क्षेत्र बिकास कार्यक्रम संगको सहलगानीमा नयाँपनमा परिवर्तन हुदै गएको छ । बिभिन्न कृषि सामग्री र औजार लगायत आधुनिक कृषि प्रणाली सम्बन्धि जानकारी पाएपछि अहिले कृषि पेशासंग जोडिएको जीवनशैली फेरिदै गएको छ ।
कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ९, चिल्खाया निवासी बसन्ती ढकाल सामान्य परिवारमा बसोवास गर्छिन । घरमा आफु र श्रीमान, ५ छोराहरु, १ बुहारी र १ नातिनीका साथ चिल्खायामा बस्ने वसन्तीको जीवन निर्वाहको एउटै श्रोत कृषि व्यवसाय हो । श्रीमान घरको दैनिकीलाई सहयोग गर्न झापामा राडी पाखीको व्यवसाय गर्नुहुन्छ । सामान्य लेखपढ गर्न सक्ने ढकाल परम्परागत खेती प्रणालीबाट घरपरिवारमा खान सम्म नपुग्ने गरेको बताउछिन् । उनी अझै भन्छिन, “हामीलाई आधुनिक खेती प्रणालीको बारेमा जानकारी थिएन्, पराम्परागत प्रविधिबाट खेतीपाती गर्दै आईरहेका थियौ । यसरी खेती गर्दा उत्पादन पनि कम हुन्थ्यो । त्यसैले खेतिपातीबाट ६ महिना पनि खान पुग्दैनथ्यो । यो परिवारमा छोराछोरीहरुलाई पौष्टिक आहार युक्त कुन कुन खानेकुरा कसरी खुवाउने भन्ने समेत थाहा थिएन” ५२ बर्षिया ढकाल हाल तिला कर्णाली तरकारी तथा फलफुल उत्पादक कृषक समुहको अध्यक्ष समेत रहेकी छन् । ढकालसंगै समुहमा २४ जना अन्य सदस्यहरु छन्, उनीहरु सबैले उन्नत तरिकाले खेती प्रणालीको अभ्यास गर्दैछन साथै पुरानो र रैथाने बालीको संरक्षणको अभियानलाई पनि जोड दिएका छन । तिलाकर्णाली तरकारी तथा फलफुल उत्पादन कृषक समुह र कृषि क्षेत्र विकास कार्यक्रमको ५० प्रतिशत सह(लगानीमा संचालित रैथाने बाली मुल्यश्रङ्खखला बिकास कोष मार्फत बसन्तीलाई कृषि सामग्री सहयोग गरिएको छ । उनलाई खेती प्रणाली सुधार गर्नको लागी १६ लिटर क्षमताको स्प्रेयर ट्ंयाकी, स्प्रिीङकलर, मेटल विन, सुपो, त्रिपाल, कोरौसे (झार फाल्ने औजार), बिषादी बनाउने ड्रम, मिनिटिलर (हाते ट्याक्टर), जैविक मल, जैविक बिषादी तथा सुक्ष्म खाद्यतत्व सहयोगमा सह(लगानी गरिएको छ । कृषि औजारहरु पाएर त्यसको प्रयोग गर्ने तरिका थाहा पाएपछि खेतिपाती गरेर उत्पादन बढाउन सहयोग पुगेको छ, उनले भनिन् । उत्पादित बालीहरु बजारमा बेच्न पनि व्यापारीसँग सम्झौता भएका कारणले सजिलो हुने भएको छ ।
उनले आफुले औजार पाएपछि खनजोत गर्न, झार उखेल्न गोडमेल गर्न तथा सिचाई गर्न सजिलो हुनुका साथै समयको पनि बचत भएको छ । जैविक बिषादी बनाउन र यसको प्रयोग गर्न समेत सिकेका कारण खेतीपाती पनि पहिलेको तुलनामा सप्रिन थालेको उनले बताइन । उनले आफुले कोदो पहिलो पटक लगाएको अनुभव सुनाइदै यो भन्दा पहिले कोदो बालीको महत्व नबुझेका कारण नलगाएको बताइन । आधुनिक खेतिप्रणाली अपनाएर सिमि फलाएर आफुलाई खानचाहिने जति सिमि आफुले राखेको र बचेको सिमि नजिकैको बजारमा बेचेर जिविकोपार्जन समेत भइरहेको उनले बताइन ।
हाल आएर, समुहका अन्य सदस्य सहित पोषण कक्षा र बित्तिय शिक्षा तथा ब्यावसायिक साक्षरता कक्षा समेत लिईरहेकी छन । उक्त कक्षा बाट पोषण सम्बन्धी जानकारी लिएको र कसरी ब्यावसायीक बन्ने भन्ने कुरा सिकेको उनले बताइन । यसका साथै उनले आफु जस्तै आफ्ना सदस्यहरुलाई पनी सफल र सक्षम कृषि उद्यमी बनाउन आफुले जानेको सिप र तरिकाहरु सिकाएर आफ्ना उनीहरुको पनि जीवनस्तर सुधार गर्न संधै लागिरहने प्रतिबद्धता समेत गरिन । यसरी व्यावसायीक रुपमा कृषि पेशामा संलग्न भएपछि वसन्तीको जीवनशैलीमा अहिले आएर परिवर्तन आएको छ ।
तयारीकर्ता
प्रमिला शाही, कृषि प्राविधिक
कृषि क्षेत्र बिकास कार्यक्रम, तिलागुफा नगरपालिका
कालीकोट
लेखनः किरण न्यौपाने, M&E Officer, कृषि क्षेत्र विकास कार्यक्रम जुम्ला
Review: रत्नबहादुर बुढा, Knowledge Management & Communication Officer सुर्खेत