सीता कुमारी खाम्चा लेकवशी नगरपालिका वडा नं ९ जनअपेक्षा सहकारी संस्थाको एकजना सक्रिय सदस्य हुन । पढेर जागिर खाने उनको सपना कलिलै उमेरमै तुहियो । कक्षा १० मा पढ्दै गरेकी सिता संग विवाहको प्रस्ताव लिएर छिमेकी गाँउबाट सन्तोष खाम्चा उनको परिवार कँहा आईपुग्छन् । एकातिर आफनै ईष्टमित्र अर्कोतिर गाँउकै जमिनदारको छोरोसंग छोरीको विवाह गर्न पाउदा उनको आमाबुवा खुशी हुन्छन् । परिवारकै सहमतिमा १२ वर्षकै उमेरमा उनको विवाह भयो । विवाह गर्नुभन्दा पहिले नत उनलाई एकपटक छोरी तिम्रो मञ्जुरी छ ? भनेर सोधियो नत हुनेवाला श्रीमानसंग कुराकानी गराईयो । परिवार र आफन्तको खुशीको लागि सिताले आफना सजाएर राखेका सपनाहरु अनि उर्लिदो जवानीको खुशी सबैकुरा त्याग्न तयार भईन । सन्तोषले आफनो पढाई पहिले नै छोडिसकेका थिए । विवाह के हो, विवाह पछिको घरबार कसरी समाल्ने केहि पनि थाहा नपाएकी सितालाई अबको भविष्य के होला भन्ने केहि यकिन थिएन । विवाह पछि उनले अरु साथीहरुसंग देखिन लाज लागेर स्कुल जान छोडिन । उनको पढाई कक्षा १० मै रोकियो । उनी भन्छिन, उमेरमा नपढेर अहिले गल्ति गरेजस्तो लाग्छ ।उनको घरपरिवार जसोतसो चलेकै थियो । विवाहको झष्डै ३ वर्षपछि वि.सं. २०५८ सालतिरको कुरा होला, उनको परिवारमा सल्लाह भो सुर्खेतमा गएर होटल व्यवसाय संचालन गर्ने । नयाँ सपना बोकी सिताको परिवार सुर्खेततिर लाग्छन् । उनीहरु सुर्खेतमा गएर बसपार्क नजिकै सन्तोष नास्ता पसल चलाउन सुरु गर्छन । सुरु सुरुमा त होटल राम्रै चलेको थियो । संकटकालको समय माओवादी १० वर्षे जनयुद्वको प्रभाव विस्तारै बढ्दै जाँदा मानिसहरुको आवतजावत घट्दै जान्छ । दिनानुदिन उनको व्यवसाय चल्न छोड्छ । आजको भोली व्यापार घट्दै जाँदा उनीहरुलाई घरभाडा तिर्न धौ-धौ हुन्छ । अन्तिममा केहि सिप नलागी उनीहरु होटलमा भएको सामान बेचविखन गरी आफनै गाँउ फर्किन्छन् । एउटा सपना देखेर सहर पसेको परिवार पून ति सपनाहरु यत्रतत्र सहरतिरै छोडेर गाउ फर्कियो । सुर्खेत आउदै गर्दा सितालाई लागेको थियो अब के को गाँउ फर्किनु यतै घरजग्गा जोडेर बस्नुपर्छ तर समयले त्यसो हुन दिएन । सपरिवार पून फेरी गाँउमै केहि गर्नुपर्छ भनि दुखेको मन बुझाउदै गाउ फर्किन्छन् ।
शहरबाट गाउ फर्केको सिताको परिवारले केहि वर्ष आफनै बारीमा खेतिपाती गरेर परिवारको गुजारा चलाउछन् । यो बिचमा उनीहरुले नत व्यावसायिक रुपमा खेतिपाती गर्न सके नत आम्दानी । परम्परागत रुपमा गरिने खेतिपातीले बर्षभरी परिवारको हातमुख जोर्न पनि धौधौ हुने गर्दथ्यो । कतिदिन यो दुख गर्नु भन्न लागेर उनीहरुले पून गाउमै सरसापट र जोहो गरि लेकवेसी नगरपालिका वडा नं ९ गगटेमा लेकबेशी फेन्सी पसल सुरु गर्छन । फेन्सी पसल केहि वर्ष त राम्रै चलेकै थियो, त्यहि बिचमा Covid-19 को कहर सुरू भयो । मानिसहरु कोभिडबाट कसरी जोगिने भनि सावधानी अपनाउन सुरु गर्छन् । सरकारले लकडाउन घोषणा गर्यो । बजार तथा पसलहरु बन्द गर्न लगाईयो । मानिसहरुको आवतजावत पूर्ण रुपमा बन्द भयो । व्यवसायहरु चल्न छाडे । भाडामा संचालन गरेको पसल बन्द हुदा पनि घरभाडा तिर्नुपर्ने अवस्थाले सिताको परिवारलाई फेरि ऋणमा डुबाओ । उनीहरु पसल बन्द गर्न वाध्य भए । आफुले परिवार तथा आफन्तजनसंग ऋण सापटी गरि लगानी गरेको ३/४ लाख रुपैयाँ पनि डुब्यो । पटक पटक नयाँ उमङ्ग र आशा बोकेर सङ्घर्षमा हिडेको सिताको परिवारले जतासुकै असफलता वेहोर्नु पर्यो । त्यसपछि पून उनीहरु आफनो पुरानै घरमा परम्परागत कृषि पेशा गर्न सुरु गर्छन् ।
जसोतसो गरि संचालन गरेको होटल व्यवसाय र फेन्सी पसल बन्द गरि गाँउ फर्किनुपरेपछि सबै आशाहरु मरेको सिताको परिवारले नयाँ मोड लियो जब उनी जनअपेक्षा सहकारी संस्थामा आवद्व भईन । कृषि क्षेत्र विकास कार्यक्रमसंगको सहलगानीमा जनअपेक्षा सहकारी संस्था मार्फत उनले भैसीपालन व्यवसाय गर्न सुरु गर्छिन् । कृषि क्षेत्र विकास कार्यक्रम मार्फत भकारो सुधार, घाँस काट्ने मेसीन सहयोग तथा तालिममा सहभागी भए पश्चात व्यवसायलाई अझ बढाउदै लैजाने सोच आएको उनले बताईन । त्यसपछि उनले लगत्तै वि.सं. २०७९ सालमा आफनै नाममा सिता कृषि तथा पशुपंक्षी फर्म दर्ता गरिन् । सुरुमा २ वटा भैसीबाट व्यवसाय सुरु गरेको उनको फर्ममा १ वर्षको अवधिमा अहिले आएर ८ वटा भैसी, ४ वटा पाडा, १ राँगो, ३ वटा गाई र एउटा गाईको बाच्छो छन् ।आफनो बारिमा प्रशस्त मात्रा घासपात हुने हुनाले पनि आफुले भैसीपालन व्यवसाय संचालन गरेको हुँ उनले भनिन् । उनीसंग अहिले ८ वटा भैसीमध्ये ५ वटा दुहुनो छन् । प्रतिदिन बिहान र साँझ गरि करिब ३० लिटर दुध प्रतिलिटर ६३ रुपैयाँको दरले वीरेन्द्रनगर सहकारी संस्थाले संचालन गरेको दुग्ध डेरीमा बिक्री गर्छिन् । दुध र बारीमा उत्पादन गरेको तरकारी बेचेर उनले महिनाको १ लाख देखि १ लाख ५० हजारसम्म कमाउछिन् । व्यवसायकै कमाईबाट उनको परिवारले एउटा अटो किनेको छ जुन श्रीमानले चलाउछन् । श्रीमानले अटो चलाउनुका साथै व्यवसायमा पनि सहयोग गर्नुहुन्छ । परिवारमा सासु-ससुरा, आफु, श्रीमान, २ छोरी र १ छोरो गरि जम्मा ६ जनाको परिवार संख्या रहेको छ । उनीसंग परिवारका अन्य सदस्यहरुले पनि उनको व्यवसायमा सहयोग गर्दछन् । उनी भन्छिन हाम्रो परिवार आफुले गरेको व्यवसाय प्रति पूर्ण रुपमा सन्तुष्ट छ । अझै यसलाई व्यवस्थित गर्दै बढाउदै लैजाने योजना छ उनले सुनाईन् । यो वर्षमा मात्र १४/१५ लाख लगानी गरी गोठ निर्माण गरेका छौ । अबको १ वर्षभित्र ६०/६५ वटा भैसी पुर्याउने लक्ष्य छ उनले भनिन् । यसको लागि कृषि विकास बैङ्कसंग ५० लाख सहुलियत कृषि ऋण स्वीकृत भईसकेको छ । अहिले पहिलो किस्ता वापत रु २८ लाख रुपैया लगिसकिएको छ बाकी प्रक्रियामा छ । उमेरमा पढ्न सकिएन अहिले आएर पछुतो लाग्छ उनले भनिन् त्यसैले पनि व्यवसायमा दुख गर्ने ईच्छा जागेर आउछ ।
उनले भैसीपालन व्यवसायकै लागि आफनो २५ कठ्ठा जग्गामा घाँस खेती गरेकी छन् । लेकबेशी नगरपालिका वडा नं ९ गँगटेमा १ बिघा जग्गामा नेपियर घाँस खेती गरेका छौ । घाँस खेति बाहेक बाकी रहेको जग्गामा अन्नबाली लगाउछौ । उनले भनिन् आफनो उत्पादनले परिवारलाई खान पुगेर बाँकी रहेको ४०/४५ मुरी अन्न बार्षिक रुपमा बेच्ने गर्दछौ ।
कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत जनअपेक्षा सहकारी संस्थासंगको सहलगानीमा संचालित वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता (FEBL) सम्बन्धि ४० दिने कक्षामा सहभागी भई व्यक्तिगत, घरायसी र आफ्नो व्यवसायमा आवश्यक आम्दानी र खर्च व्यवस्थापन गर्ने तरिकाका बारेमा जानकारी पाएपछि आम्दानी गर्नुमात्र नभई अनावश्यक खर्च कटौती गरि लगानी गर्नु महत्वपूर्ण हुने कुरा थाहा भयो । उनी भन्छिन, अहिले आएर व्यवसायको आम्दनी र खर्चको हिसाब गर्न सक्ने भएकी छु । वित्तिय कक्षामा संचालन गरिएको पोषण कक्षाले खानपानमा सुधार भएको छ । पोषण कक्षामा सहभागी भएपछि घरमा पोषण बगैचा निर्माण गरेकी छु । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) मार्फत निर्माण गरिएको कोलखोला सिचाई कुलोले उनी लगायत अन्य स्थानीयको सिचाईको समस्या समाधान भएको छ । खेतिपातीको लागि आकासे पानीमा भर पर्नुपर्ने किसानको समस्या अहिले हटेर जानुका साथै समयमै सिचाई भएपछि उत्पादन पनि बढेर गयो ।
कृषि क्षेत्र विकास कार्यक्रमको सहयोग पश्चात अहिले आएर मेरो परिवारको जीवनशैली बदलिएको छ, खुशि हुदै उनले थपिन् । पढन सकिएन त के भो एउटा सफल कृषक बनेर पहिचान कमाएकी छु । यसले मलाई सिकाई भएको छ, "यदि हामीले सानो लगानीलाई सहि तरिकाले गर्न सक्यौ भने, व्यवसाय मार्फत ठुलो सफलता प्राप्त गर्न सकिने रहेछ।" कृषि क्षेत्र विकास कार्यक्रमले मेरो परिवारको मरेको आशा जगाई दियो ।समुहमा आवद्व भई विभिन्न तालिममा सहभागी भएपश्चात अहिले आएर आत्मविश्वास पनि बढेको छ । समुहमा आफना कुराहरु सजिलै राख्न सक्ने भएको छु । अब त जीवनमा केहि गर्न सकिन्छ भन्ने लागेको छ । यसको लागि कृषि क्षेत्र विकास कार्यक्रमलाई विशेष धन्यवाद दिन चाहन्छु ।
लेखनः रत्नबहादुर बुढा,
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, वीरेन्द्रनगर सुर्खत