वीरेन्द्रनगर नगरपालिका वडा नं २, कोलडाँडामा ४५ जना सदस्य भएर गठन भएको अपाङ्ग कृषक समुहले कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) सहलगानीमा सामुहिक बेसार खेती गर्दै आइरहेका छन् । अपाङ्ग कृषक समुह गठन भए पश्चात सह लगानीका लागि कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतमा प्रस्तावना पेश गरेपछि सम्झौता अनुसारको क्रियाकलापमा काम गरी पहिलो, दोश्रो र तेश्रो किस्तामा अनुदान रकम प्राप्त गरी काम गरिरहेका छन् । उनीहरुले सामुहिक रुपमा बराहताल गाउपालिका वडा नं ५ मा ६ विघा जग्गाबाट सुरु गरेको बेसार खेती राम्रो फस्टाउदै उपलब्धिमूलक बन्दै गएकाले त्यँहाबाट क्षेत्र विस्तार गरी बराहताल वडा नं ८ मा ५ विघा थप गरी जम्मा ११ विघा क्षेत्रफलमा बेसार खेती गरिरहेका छन् । उनीहरुले हाल गरिएको खेतीबाट अनुमानित १००० क्वीन्टल बेसार उत्पादन हुने अनुमान गरिएको समुहका अध्यक्ष मनराज कठायत बताउछन् ।
समुहमा केहि सदस्यहरु विभिन्न प्रकारको अपाङ्गता भएको छन् । यसैले पनि उनीहरु आफुले सक्ने अनुसारका कामहरु आपसमा मिलेर गर्ने गर्दछन् । यदि समुह सदस्यले गर्न नसक्ने काम भएमा उसको परिवारका सदस्यले सघाउनु हुन्छ । हाल आएर समुह सदस्यहरु सामुहिक बेसार खेती गर्नुमा गर्व गर्दछन् । बेसार खेती गर्नुभन्दा पहिला मानसिक र सामाजिक हिसाबले गिरेको जस्तो अनुभव गर्ने गरेकोमा कृषि क्षेत्र विकास कार्यक्रम मार्फत सहलगानीमा यो व्यवसाय गर्दा आफुहरुमा धेरै परिवर्तन आएको छ यसले गर्दा आफुहरुलाई समाजले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन भएको छ । समुहसंग जोडिए पछि आत्मविश्वासमा वृर्दि भएको छ, समुहका अध्यक्ष मनराज कठायतले भने । हामीमा ईच्छाशक्ति हुनेहो भने आफुले चाहेको काम गर्न सकिन्छ जसले जीवन परिवर्तन गर्न सहयोग पुग्दछ । यसका लागि कृषि क्षेत्र विकास कार्यक्रमलाई हार्दिक धन्यवाद दिन चाहन्छौ ।
संकलन तथा लेखनः
प्रमिला रोका
कृषि प्राविधिक
कृषि क्षेत्र विकास कार्यक्रम वीरेन्द्रनगर सुर्खेत