घरमा ६ जना बहिनी र १ जना दाई, सल्यान जिल्लाको बनगाढ कुपिष्डेदह नगरपालिका वडा नं ३ जन्मघर भएकी पुष्पा बस्नेतको १७ वर्षको उमेरमै भेरीगंगा नगरपालिका १० बस्ने हस्तबहादुर बस्नेतसंग बिहेबारी भयो । उतिबेला कक्षा ८ को जिल्लास्तरीय परीक्षा दिएर बसेकी पुष्पा, परिक्षाको रिजल्ट नहुदै विवाहको लगनगाँठोमा बाधिन पुगिन । पढौला र जीवनमा केहि गरौला भन्ने अभिलाषा बोकेकी उनी विहे गरेको एकवर्ष भित्र नै छोरीको आमा बनिन् । उमेरले पुष्पा भन्दा झष्डै १० वर्ष जेठा हस्तबहादुरको पहिले देखि नै घर चलाउन मौसमी रोजगारीका लागि भारत जानुपर्ने बाध्यता थियो । खेतीपाती गर्ने समयमा घरको खेतीपाती गर्ने र बाकी रहेको समय भारतमा गई ज्यालाद्वारीका रुपमा काम गर्ने उनका श्रीमान् पछिल्लो समय गाउघरमै ज्यालाद्वारीमा काम गर्छन । अहिले उनको परिवारमा श्रीमान, श्रीमती र छोरा छोरी गरि कुल ४ जनाको संख्या रहेको छ ।
उनीहरु खेतिपाती र दैनिक ज्यालाद्वारीबाट परिवारको जिविका चलाईरहेको हुन्छन् । यसैबिचमा उनले परिवारमा दोश्रो सन्तानको रुपमा छोरोको जन्म दिन्छिन । घरमा सन्तानको रुपमा छोरा जन्मिएकोमा परिवारमा खुशीयाली छाउछ । दैवको लिला उनको परिवारमा छाएको खुशी धेरै टिक्न पाएन किनकि जम्मिने बित्तिकै छोरो बिरामी हुन्छ र ICU मा राखि उपचार गर्नुपर्ने भयो । बच्चालाई प्यारालाईसिस भई झण्डै १ महिना नेपालजंग कौशिल्या मेमोरियल हस्पिटलमा भर्ना गर्नुपर्यो । गाउमै साहु महाजन संग ऋण सापट गरि छोराको उपचार गर्दैगर्दा १ वर्षपछि वि.सं.२०७५ सालमा छोराको मृत्यु भयो । एकातिर सन्तानको मृत्युको पिडा त छदैथियो त्यो संगैं अर्कोतिर छोराको उपचारले उनको परिवार ऋणमा डुब्यो । यहि बिचमा पुष्पा आफुपनि बिरामी हुन्छिन् । जस्तोसुकै परिस्थिती भएपनि उनीहरुले आफन्तहरुसंग सरसापट गरेर छोराको उपचारमा लागेको ऋण तिर्छन ।
आफनो परिवारलाई खानको लागि मात्र तरकारी लगाउने पुष्पाको परिवार गाँउमै संचालनमा रहेको सफल शिखर उपहार सहकारी संस्थाको सदस्य हुन्छिन । सफल शिखर उपहार सहकारी संस्था र कृषि क्षेत्र विकास कार्यक्रम वीरेन्द्रनगर सुर्खेत बिचमा सहलगानीमा कार्यक्रम संचालनका लागि सम्झौता भई कार्यक्रम सुरु भएपछि पुष्पा पनि उपसमुह मार्फत कार्यक्रममा आवद्व हुन्छिन । कृषि क्षेत्र विकास कार्यक्रमले संचालन गरेको लैङ्गिक कार्य सिकाई पद्वती (GALS) तालिममा उपसमुहको तर्फबाट सहभागी हुने अवसर पाउछन् । गाल्स पद्दति लेखपढ गर्न नसक्ने तथा घरेलु हिँसामा रहेका विपन्न वर्गका महिलाहरुलाई चित्र वा तस्विरका माध्यमवाट सशक्तिकरण गर्ने विधि हो । यस अन्तरगत आर्थिक सशक्तिकरणका लागि सुनौलो सपनाको यात्रा, श्रोत साधनमा पँहूच तथा नियन्त्रण र कार्यवोझ सन्तुलनका लागि खुसि परिवार रुख र पारिवारिक माया मोह र घरपरिवार तहमा निर्णय लागु हुने अवस्थाका लागि नेतृत्व सशक्तिकरण नक्सा बनाई सहजकर्ता मार्फत घरपरिवार तहमा कोचिङ्ग र मेन्टरिङ्ग गर्ने गरिन्छ। यसै क्रममा उनले पनि अन्य सहभागिले जस्तै तालिमका दौरान आफनो परिवारको सुनौलो सपनाको लक्ष्य तय गर्छिन । जस अन्तरगत खेतिपाती गर्ने, तरकारी लगाउने, बाख्रा र कुखुरा पालन गरी परिवारको आम्दानी बढाउने पारिवारिक व्यवसायीक योजना बनाउछिन् ।उनका श्रीमान् हस्तबहादुर जुवा तास खेल्ने, जाँडरक्सी खाने र घरमा झगडा गर्ने गर्दथे । गाल्स् तालिम पछि सहजकर्ता र अन्य दिदीबहीनीहरु घरमा आई श्रीमान् श्रीमती संगै राखेर उनको श्रीमानलाई सम्झाई बुझाई गर्नुभयो । सुरुसुरुमा त सहजकर्ता र अन्य दिदिबहिनी आउदा नजिक आउन नमान्ने उनका श्रीमानले विस्तारै आफनो बानीमा सुधार ल्याउनुभएको छ उनले भनिन् । पहिले जाडँ रक्सी खाने, जुवा तास खेल्ने र घरमा झगडा गर्ने श्रीमान अहिले सबै कुलत छोडेर घरको काममा सघाउने हुनुभएको छ । लैङ्गिक कार्य सिकाई पद्वति (GALS) तालिममा सहभागी भएपश्चात जीवनमा केहि गर्ने आत्मविश्वास जागेको उनले बताईन ।
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतबाट सहलगानीमा सफल शिखर उपहार सहकारी संस्था मार्फत बाख्रापालनको लागि खोर निर्माण, घाँस काट्ने मेसीन, घाँस व्यवस्थापनका लागि बेर्ना, आवश्यक औषधि तथा तालिम सहयोग पश्चात हाल उनले व्यावसायिक रुपमा खेती गर्न थालेकी छन् । व्यावसायिक रुपमा गर्ने खेतीले उनलाई नियमित आम्दानी त भएकै छ, यसका साथै उनको परिवारमा सम्बन्धमा सुधार आएको छ । आजभोली श्रीमानले जुवातास खेल्न र जाँड रक्सी खान छोड्नु भएको छ । यसले गर्दा दैनिकजसो हुने घरझगडा बन्द भएको छ । उनको श्रीमान् हस्तबहादुर मिस्त्रीको रुपमा दैनिक ज्यालादारीमा गाउमै काम गर्छन भने साँझ र बिहान बचेको समय उनको व्यवसायमा सघाउछन् ।आफुले कमाएको एक रुपैया पनि वचत नगर्ने श्रीमानले अहिले आएर मासिक ३० देखि ३५ हजार कमाई गर्नुका साथै घरायसी काममा समेत सहयोग गर्दा खुशी हुदै उनले भनिन्, घर परिवारमा सुधार आएपछि अब त केहि गर्न सकिन्छ भन्ने आँट पलाएको छ । हिजो कुरा काट्दै हिड्ने हरु अहिले आएर बदलिएका छन् । जीवनमा एकपछि अर्को गरि आईपरेका अष्ठ्यारो परिस्थितीहरुले चुनौतीहरुसंग मुकाविला गर्न सिकायो, भावुक हुदै उनले भनिन् ।छोराको उपचार गर्दा लिएको करिव पाँच लाख जति ऋण तिरेर अहिले मेरो परिवारमा ३ वटा बाख्रा, २५/३० वटा कुखुरा छन् भने तरकारी खेतीको रुपमा आलु, गोपी, खुर्सानी लगाउने गरेको छु । उत्पादन गरेको तरकारी आफुले खाएर पनि बेच्ने गरेका छौ । कृषि क्षेत्र विकास कार्यक्रमसंग जोडिए पछि आज जीवनको कथा बदलिएको छ । हिजोका दुखका दिन आज विस्तारै बदलिदै गएका छन् उनले भनिन् । अरुसंग बोल्न पनि लजाउने पुष्पा आजभोलि भने ढुक्कसंग आफना कुरा राख्न सक्छन । जीवनको कहानी भन्न सक्छन् । बदलिएको आफनो परिवारको दैनिकीलाई हिजो र आजसंग तुलना गर्न सक्छन् । यसरी पिडैपिडा बिच बाँचेको पुष्पाको जीवन अहिले आएर बदलिएको छ ।
लेखनः रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत