प्रतिस्पर्धात्मक, सदस्यमैत्री र उत्कृष्ट कृषि सहकारी संस्थाको निर्माण गर्ने परिकल्पना बोकेर मिति २०६५ साल असार ३ गते नारायण नगरपालिका २ दैलेखमा श्री कृतीदेवल बहुउद्देश्यीय सहकारी संर्थाको स्थापना भएको हो । स्थापना कालमा १५ जनाको संचालक समिति सदस्य र २६ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हाल आएर ३९३ सदस्य संख्या रहेको छ । नारायण नगरपालिकाको वडा नं २ कार्यक्षेत्र रहेको यो सहकारी संस्थाको कुल दायित्व रकम रु ४ करोड ७७ लाख ६४ हजार ५२६ रहेको छ ।
कृषकहरुले आफनो बारीमा उत्पादन गरेको तरकारी डोकोमा बोकेर दैलेख बजार गई बिक्रि गर्नुपर्ने बाध्यतालाई सहज र सुलभ बनाउने लक्ष्य लिएर कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना भएको हो । यो सहकारी को स्थापना भएपछि विभिन्न किसिमका कायक्रमहरु संचालन गर्दै कृषकहरुले बिहान उज्यालो नहुदै आफुले उत्पादन गरेको तरकारी डोकोमा बोकि दैलेख बजारमा घरघरमा गई बेच्नुपर्ने दुखलाई सहज बनाईदिएको छ । यसका साथै सहकारीले उनीहरुले तरकारी बिक्रि गरी भएको आम्दानीबाट घर खर्च कटाई बाकी रहेको रकम सहकारीमा बचत गर्ने र आवश्यक परेको बेलामा सहुलियत ऋण प्रदान गर्दैआईरहेको छ ।
कृतिदेवल बहु उद्देश्यीय सहकारी संस्था लिमिटेड र कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतको बिचमा मिति २०७७ साल असार २७ गते २ वटा उपसमुह (कोणथाप्ला तरकारी उत्पादन समुह र माझरुम्टा तरकारी उत्पादन समुह) मार्फत बेमौसमी तरकारी खेती र ३ वटा उपसमुह (पातीकान्ला ताराचौर बाख्रापालन/प्रगतिशिल बाख्रापालन समुह/सरस्वती बाख्रापालन समुह) मार्फत ब्राखापालन कार्यक्रमको लागि सम्झौता भई उपआयोजनाको कार्यान्वयन गरिएको थियो । बेमौसमी तरकारी खेति उपआयोजना कार्यान्वयनका लागि कृषि क्षेत्र विकास कार्यक्रम मार्फत प्लाष्टिक टनेल ७३, मिनिटिलर २, स्प्रेयर २३, हजारी प्लाष्टिक ६२, बीउ २, मल २, नर्सरी ट्रे १२६४ र कोमोपिट २ वटा सहयोग गरिएको थियो भने बाख्रापालन उपआयोजनाको लागि खोर निर्माण ६०, घाँस व्यवस्थापन ३२, नुन, औषधि र नश्ल सुधारको लागि ३ वटा बोका सहयोग गरिएको छ । तरकारी व्यवसायको लागि उपसमुहमा सहयोग पश्चात कृषकहरुले तरकारी उत्पादन गर्न सुरु गरेका छन भने उत्पादित तरकारी डोकोमा बोकेर दैलेख बजार पुर्याई घरघरमा बेच्नुपर्ने बाध्यता सहकारीको कारणले अन्त्य भएको छ । समुह सदस्यहरुले आफुले उत्पादन गरेको तरकारी सहकारीमा सजिलैसंग बिक्रि गर्दै आईरहेका छन् । सहकारीले आफनै तरकारी संकलन केन्द्र संचालनमा ल्याई कृषकको जतिपनि उत्पादन भएको तरकारी सहकारीले निश्चित तोकिएको मुल्यमा खरिद गर्ने गर्दछ । सहकारीको आफ्नै ६ सदस्यीय तरकारी संकलन केन्द्र सञ्चालन उपसमिति र सर्वराज भष्डारीको संयोजकत्वमा ३ सदस्यीय दररेट उपसमिति छ । दररेट उपसमितिले तरकारीको दररेट तोकि सोहि बमोजिम कृषकहरुले उत्पादन गरेको तरकारीहरु संकलन केन्द्रमा सहकारी आफैले खरिद गर्दछ । सहकारीले वार्षिक रुपमा संकलन केन्द्रमा तरकारी ल्याई उत्कृष्ट कारोबार गर्ने कृषकहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।
सहकारीमा हाल दिपक कुमार थापा अध्यक्ष हुनुहुन्छ । समाज सेवा गर्ने उद्देश्यले राजनितीमा लाग्नुभएका थापाले वि.सं. २०५४ सालको निर्वाचनमा वडाअध्यक्षमा विजयी भई निर्वाचित जनप्रतिनिधिको रुपमा आफनो सफल कार्यकाल बिताउनु भयो । पछि आएर सामाजिक काम गर्ने लक्ष्यलाई सहकारी स्थापना मार्फत अहिले सहकारीको नेतृत्वमा हुनुहुन्छ । आफनो वरिवरि आँखै अगाडि देखेको र आफैले भोगेको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा केहि सिमित व्यक्तिहरुसंग छलफल गरेर यो सहकारीको स्थापना गरिएको हो । हाल आएर त्यो सपना पुरा भएको छ उहाँले भन्नुभयो । सदरमुकामको नजिकै, अनि प्रशस्त तरकारी उत्पादन हुन सक्ने संभावना भएको यो ठाँउ र यँहाका कृषकले उत्पादन गर्ने तरकारीलाई सहजै कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराले सधै मनमा लागिरहन्थो, त्यहि कुरा अहिले आएर सहकारी मार्फत पुरा गर्न सकिएको छ थापाले भन्नुभयो । सहकारीले कृषक मार्फत संकलन गरेको तरकारीलाई दैलेख बजारका साथै सुर्खेतसम्म पठाउने गरेको छौ । हामीसंग अहिले २ वटा कोल्ड स्टोर छन् । तरकारी भण्डारणको कुनै समस्या छैन, सहकारी व्यवस्थापक रोहित कुमार भष्डारीले भन्नुभयो । सहकारीमै तरकारी बेचेर सबैभन्दा बढि ११ लाखसम्म र कम लिनेले ८२ हजार सम्म एउटै कृषकले लिएको देखिन्छ ।
कृषकहरुको जीवनस्तर परिवर्तन गर्नका लागि साना-साना समुह मार्फत भन्दा पनि सहकारी बनाई काम गर्दा बढि प्रभावकारी हुने अनुभव अध्यक्ष थापाको रहेको छ । सहकारीको अबको योजना भनेको बजारीकरणलाई अझ प्रवद्वन गर्ने रहेको छ । सहकारीको आफनो डबल क्याप बोलेरोले मात्र उत्पादन भएको तरकारी ढुवानी गर्न नपुगेको हुनाले सहकारीको लागि थप सिङ्गल क्याप बोलेरो गाडीको आवश्यकता रहेको छ । सहकारीले सिंगल क्याप बोलेरो खरिद सहयोगको लागि कृषि क्षेत्र विकास कार्यक्रमसंग व्यावसायिक योजना पेश गर्ने योजना छ । यसका साथै अन्य सहयोगी निकायहरुसंग पनि समन्वय गरिरहेको छौ अध्यक्ष थापाले भन्नुभयो । आउने दिनमा सहकारीले आफ्नै ५० देखि ६० रोपनी जग्गा किनेर सोहि जग्गामा तरकारी खेति, बाख्रा र भैसीपालन व्यवसाय संचालन गर्ने योजना रहेको छ । आफ्नो अनुभव सुनाउदै अध्यक्ष थापाले भन्नुभयो हामी बचत सदस्य बढाउने भन्दा पनि किसानको उत्पादनमा जोड दिन चाहान्छौ । सबैको मन जितेर विश्वास दिलाउन सकिएमा बचत कर्ता आफै बढेर जान्छन उहाँले भन्नुभयो ।
कृषि क्षेत्र विकास कार्यक्रमको सहयोगमा सहकारी मार्फत २ वटा सिचाई पोखरी पनि सम्पन्न भएका छन् । सिचाई पोखरीबाट प्रतक्ष र अप्रतक्ष गरी करिब १०० घरधुरी लाभान्वित भएका छन् । गाउँमै सहकारी स्थापना भएपछि साहुको चर्को ब्याजमा ऋण लिनुपर्ने बाध्यता हटाईदिएको छ भने कृषकले उत्पादन गरेको तरकारी डोकोमा बोकेर घरघरमा गई बेच्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सहकारीको मुल नारा नै "उत्पादन तपाईको, बजार हाम्रो" भन्ने अभियानका साथ यसले कृषि उत्पादन वृद्वि गर्न उत्प्रेरित गर्दै आइरहेको छ ।
सुरुमा २५ जना संस्थापक सदस्यहरुबाट सुरु भएको यो सहकारी संस्थाले अहिले आएर आफनै बैठक हल, सभाहल, तरकारी संकलन/बिक्रि कक्ष र दैनिक प्रशासनिक कामकाजका कक्षहरुका साथै गोदाम र गाडी ग्यारेज सहितको संस्थाको आफ्नै भवनबाट आफ्ना सेवाहरु दिदै आइरहेको छ । सहकारीको दैनिक सेवा प्रवाहको लागि ५ जना नियमित कर्मचारीहरु कार्यरत रहेका छन् ।
लेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत